अर्जुनधारा, कात्तिक ३० । बिर्तामोड नगरपालिका खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमिफाइनल यात्रा तय गरेको हो ।

बिर्तामोडको जितमा श्याम मुर्मू नायक बने । उनले खेलमा ह्याट्रिक पुरा गरे । मुर्मूले खेलको २१ औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि–किकलाई हेडमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मूले ह्याट्रिक पुरा गरे ।

बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एक–एक गोलको योगदान दिए । पहिलो हाफको अतिरिक्त समयमा डि–एरिया नजिकैबाट भुजेलले प्रहार गरेको फ्रि–किकले जाली चुमेको थियो । लिम्बूले खेलको ६१ औं मिनेटमा टिमका लागि ५ औं गोल गरेका थिए ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा गौरादहले भने स्कोर गर्न नसक्दा ५–० गोलको पराजय भोग्यो । पहिलो हाफमा ३–० गोल अन्तरले पछि परेको गौरादहले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न नसक्दा थप २ गोल खायो ।

आजको खेलमा ह्याट्रिक गरेका बिर्तामोडका मुर्मू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उनलाई बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोलि हुने चौंंथो क्वाटरफाइनल खेलमा दमक नगरपालिका र भद्रपुर नगरपालिकाबिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेका हुन् । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल पाउने छन् ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्