झापा, कात्तिक ३० । आगामी मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

कन्काई नगरपालिका ६ नं वडा कार्यालयको पहिलो तलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । झापा जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलको अध्यक्षतामा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जनाइएको छ ।

उपनिर्वाचनका लागि कन्काई ६ मा दुई हजार ५८ जना मतदाता छन् ।
कन्काई ६ मा गत २०७९ भएको स्थानीय तह निर्वाचनमा एक हजार पुरुष र एकहजार ५० महिला गरी कुल दुई हजार ५० जना मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि गत भदौ ३१ गतेसम्म (उपनिर्वाचनको मिति घोषणाअघि) उक्त वडामा आठजना मतदाता बढेका छन् ।

त्यस्तै ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३,सिकैचास्थित वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत करिब २५ जनाको उपस्थितिमा स्थानीय तह उपनिर्वाचनको लागि वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

त्यस्तै मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। स्थानीय तहको आगामी उपनिर्वाचनलाई लक्षित गर्दै ग्रामथान गाउँपालिकामा शुक्रबार कार्यालय स्थापना गरिएको हो।
ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरियामा रहने गरी स्थापना गरिएको कार्यालयको जिल्ला अदालत मोरङका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले उद्घाटन गरेका छन्। कार्यालय स्थापना गरेलगत्तै मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफलसमेत राखेका थिए।
निर्वाचनमा भाग लिने सबै राजनीतिक दल सहभागी छलफलमा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई उनले आह्वान गरेका छन्। शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न गर्न दलहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।

छलफलमा विभिन्न दलका नेताहरु उपस्थित थिए। उनीहरुले निर्वाचनलाई भयरहित हिसाबले सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम आगामी मंसिर २ गतेबाट सुरु हुने जानकारी दिए।

निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ। उम्मेदवारी दर्ता बिहान १० बजेबाट सुरु हुने उनले बताए। निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिएको छ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक विषयका बारेमा जानकारी दिएका छन्। ७ वटा वडा रहेको ग्रामथानमा आगामी उपनिर्वाचनमा २६ हजार ४४ जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्