झापा , मंसिर १ । आज साँझ बिर्तामोडको रामचौकमा ट्रकको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु भएको छ ।
साँझ अन्दाजी ६ बजे बिर्तामोड– २ रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चौकतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८.१५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै स्कुटीमा पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटी, ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।