बिर्तामोड, मंसिर २ । पहिचानवादीहरुले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आए विरोध गर्ने बताएपछि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सवको उद्घाटन खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले गरेका छन् ।
हिजोदेखि झापाको बिर्तामोडमा बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव शुरु भएको हो । तामाङ घेदुङ बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघले संयुक्त रुपमा सो महोत्सव आयोजनामा गरेका छन् ।
आज विराटनगरमा कोशी नाम खारेजीको नयाँ चरणको आन्दोलन हुँदै गर्दा आयोजकहरुले मुख्यमन्त्री कार्कीलाई प्रमुख अतिथिको रुपमा बोलाउने तयारी गरेका थिए । तामाङ घेदुङ आफै आयोजक भएर मुख्यमन्त्री कार्कीलाई बोलाउन नमिल्ने भन्दै अन्य पहिचानवादीहरुले तीब्र विरोध गरेपछि कार्की आउने कार्यक्रम रद्ध गरी बिर्तामोड ८ निवासी मन्त्री कार्कीलाई बोलाइएको हो । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आव्हानमा आज विराटनगरमा नयाँ चरणको आन्दोलन हुँदैछ । त्यसमा झापाबाट पहिचानवादीहरुले सहभागिता जनाउने भएका छन् ।
महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटनसम्बन्धी अन्तरक्रिया साथै बिभिन्न व्यवसायिक स्थलहरु रहने तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, सांस्कृतिक तथा धर्म झल्किने स्टल साथै सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत रहनेछ ।
महोत्सवमा सात वटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिने नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङले बताए । उनले वानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहेपास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिए ।
भारतको सिक्किम राज्य र नेपालको पर्यटन र चलचित्रलाई सँगसँगै लाने उद्धेश्य साथै भारत र नेपालको भाइचारा सम्बन्धलाई अझ मजबुत बनाउन महोत्सवको ठूलो भूमिका रहने अध्यक्ष केवलले बताए ।महोत्सवमा बिभिन्न २२ वटा ब्यावसायिक स्टलहरु रहने बताइएको छ ।