झापा, मंसिर २ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित सुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताएका छन् । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।
चिल्ड्रेन पार्क निर्माणको विषयमा लामो समयदेखि कुरा उठे पनि नबनेको स्थानीयले बताएपछि मुख्यमन्त्री कार्कीले यसै आर्थिक वर्षबाट काम सुरु हुने बताएका छन् । पार्क निर्माणस्थलको अवलोकन गर्दै उनले शहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई काम अघि बढाउन निर्देशन दिएका थिए । स्थानीयसँग समन्वय गरी काम छिटो बढाउन उनले आचार्यलाई निर्देशन दिए ।
पार्क जानका लागि ५८ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सकिएको भए पनि पार्क भने बन्न सुरु गरेको छैन । पार्कमा स्विमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा खेल सामाग्री, चमेना गृह, खुल्ला जिम लगायतका संरचनाहरु रहने वडाध्यक्ष अग्नि कोइरालाले जानकारी दिए ।
यसैबिच मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरु अवलोकन गर्दै सुरु भएका विकास निर्माणका योजना र अन्य सबै प्रकारका योजना पूरा गरिँदै लैजाने बताए