झापा, मंसिर २ । यही मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ९ जनाले उम्मेद्वारी दिएका छन् ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कन्काई ६ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिएका छन् । उनका अनुसार स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत , नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला , नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी , मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् ।
सबैभन्दा पहिला स्वतन्त्र उम्मेद्वार ओलीले मनोनयन दर्ता गराएका थिए भने अन्तिममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रेष्ठले दर्ता गराएका छन् । कन्काई ६ को उपनिर्वाचनमा ८ जनाले राजनीतिक दलका तर्फबाट र एकजनाले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । ९ जना उम्मेद्वारमध्ये ८ जना पुरुष र एकजना महिला छन् । कांग्रेस , एमालेलगायतका ठूला दलका उम्मेद्वारहरु र्यालीसहित मनोनयन दर्ता गराउन गएका थिए ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन गरिएको छ । उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।
२०७९ को निर्वाचनपछि रिक्त रहेका नगरपालिका प्रमुख र उपप्रमुख १÷१, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न उपनिर्वाचन हुँदैछ ।