झापा, मंसिर २ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्केले देशभरका पुस्तक व्यवसायीहरू अब एकजुट हुनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा महासंघले आयोजना गरेको जागरण अभियानको दोस्रो दिनको कार्यक्रममा बोल्दै उनले पुस्तक तथा स्टेशनरीका व्यवसायीहरू अब पनि एकजुट हुन नसके चारैतिरबाट घेराबन्दीमा पर्ने बताए । ‘आफूले सञ्चालन गरेको पुस्तक तथा स्टेशनरीको व्यवसाय बचाउन देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन,’ उनले भने ।

उनले देशभर रहेका पुस्तक व्यवसायीहरूलाई महासंघको सदस्यता लिएर एउटै मालामा उनिन आग्रह गरे । महासंघले सञ्चालन गरेका हरेक कार्यक्रममा सहभागिताका लागि उनले सार्वजनिक अपिल गरेका छन् । कार्यक्रममा महासंघका केन्द्रीय सचिव महेश शर्माले पनि पुस्तक तथा स्टेशनरीको व्यवसाय टिकाउन व्यवसायीलाई चुनौती भइरहेको बताए । शैक्षिक जनशक्ति विदेश पलायन भइरहने क्रम नरोकिए यो व्यवसाय धराशयी हुने उनको दावी थियो ।

सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्न विदेशी स्टाइलमा कार्यक्रमहरू ल्याउन सके नेपालको शैक्षिक जनशक्ति पलायन हुनबाट जोगिने उनको तर्क छ । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष विनोद सापकोटाले निजी प्रकाशक, सामुदायिक तथा संस्थागत विद्यालयका संचालक, पुस्तकका अधिकृत विक्रेताका कारण खुद्रा व्यवसायी संकटमा परेको आरोप लगाए । उत्पादक र वितरक आफ्नै व्यवसायप्रति उत्तरदायी हुन नसक्दा ग्रास लेभलका व्यवसायी टाट पल्टने अवस्थामा पुगेको उनको आरोप छ ।

कार्यक्रममा व्यवसायी महासंघका कोशी प्रदेश सचिव दिवाकर भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईलगायतले ब्यवसायीको समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।अभियानको औपचारिक सत्रपछिको खुल्ला सत्रमा झापाका पुस्तक तथा स्टेशनरी व्यवसायीले आफ्ना समस्याहरू जागरण अभियानमा खटिएका केन्द्रीय पदाधिकारीसँग राखेका थिए ।

व्यवसायमा आर्थिक समस्या हुन्, पुस्तक खरिद तथा बिक्रीमा एकरुपता नहुनु, व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु, निजी विद्यालयका सञ्चालकसँग मोलमोलाइ गर्नु, व्यवसाय संकटमा पर्नु, विद्यालय हातामा पाठ्यपुस्तकको अवैध कारोबार हुनु, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋणको ब्याजमा सहुलियत प्रदान नगर्नु, प्रकाशकहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु, तल्लो तहका व्यवसायीले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्नु ब्यवसायीको ठूलो समस्या रहेको बताएका थिए ।
यस्ता समस्याहरूलाई समाधान गर्न पुस्तक व्यवसायीहरूले आफ्ना व्यापार मोडेल र मार्केटिङ रणनीतिहरूलाई समयसापेक्ष बनाउन आवश्यक रहेको पनि उनीहरुले सुझाव दिएका थिए ।

जागरण अभियानका क्रममा प्राप्त सल्लाह सुझाव र गुनासालाई लिपिबद्ध गरी केन्द्रीय समितिले सम्बोधन गर्ने अभियानमा खटिएका केन्द्रीय पदाधिकारीले बताएका थिए। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकी केन्द्रीय महिला सचिव कोपिला गिरीले जागरण अभियानको औचित्यमाथि प्रकाश पारेकी थिइन्।

अभियानमा सह कोषाध्यक्ष रविन बराल, केन्द्रीय सदस्य हरि पौडेल ,राजमणि गौतम, विक्रम कार्की कोशी प्रदेशमा परिचालित छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सचिव महेश शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्