झापा,मंसिर ३ । पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए । पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ ।
समितिले सरसफाई अभियानमा सहभागीलाई धन्यवाद दिएको छ । शनिबार काफ्लेपाटीदेखि मन्दिररसम्म बृहत सरसफाई अभियान सञ्चालन गरेको थियो । सहभागी तीनैवटा सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलाई धन्यवाद दिएको हो । समितिले ८ सय २५ केजी प्लाष्टिकजन्य वस्तु, २५ केजी सिसाका बोतल, ६५ केजी टिन र काठका टुक्रा तथा ६५ केजी फलामका टुक्रा संकलन गरेर व्यवस्थापन गरेको पनि जनाएको छ । प्लाष्टिकजन्य वस्तुहरुलाई जलाएर नष्ट गरिएको र नकुहिने तथा नसड्ने वस्तुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए ।