झापा , मंसिर ४ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए । उनले भने, ‘प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । किर्तेमा पनि अनुसन्धान हुनसक्छ । किर्ते र संगठित अपराधमा पनि तानिन सक्छन् ।’
सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।प्रसाईले कम्बोडियामा ओलीको लगानी रहेको बिषयमा पत्रकार सम्मेलन गरेलगत्तै उनलाई भक्तपुर निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।