झापा, मंसिर ६ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०÷८१ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या झन्डै १५ प्रतिशतले बढेको हो ।
विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या गत आवको संख्याभन्दा यो आवको ३५ हजार २६७ जना (१४.५९ प्रतिशत) ले बढी हो ।
चालु आवको कात्तिकमा सबैभन्दा बढी ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आवको कात्तिकमा भने ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए । गत आवको सो अवधिमा भने सबैभन्दा बढी साउनमा ५६ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवको कात्तिकमा सबैभन्दा धेरै श्रम स्वीकृति जारी भएको जानकारी दिए । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आए पनि रोजगारीका लागि जानेको संख्या बढेको देखिन्छ । चालु आवको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जाने बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको हो । नेपालीका दसैँतिहार जस्ता ठुला चाडपर्व मनाउन नेपाल आएर फर्किने बढेकाले पनि कात्तिकमा अघिल्ला महिनाको भन्दा संख्या बढेको विभागका निर्देशक सुवेदीले बताए । उनका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको संख्या मंसिरमा पनि कात्तिककै हारहारीमा हुने अनुमान छ ।