झापा मंसिर ८ । महाभारत इतिहाससंग जोडिएको धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको झापाको सताक्षीधामस्थित दिगम्बेश्वर महादेवको मन्दिरमा गजुर राखिएपछि चिटिक्क परेको छ । यसअघि छतमुनि मन्दिर थियो । अब गजुरमुनि दिगम्बेश्वर महादेवको मूर्ति भएपछि सताक्षीधाम क्षेत्र उजेलिएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेदेखि उत्तर करिब पाँच किलोमिटरको कालोपत्रे सडक हुँदै जङ्गल छिचोलेपछि सताक्षीधाम पुग्न सकिन्छ ।

सताक्षीधाम मन्दिरको गजुरसँगै सताक्षी नदीको तटीय क्षेत्रमा सताक्षीधारा समेत निर्माण हुँदा धाम क्षेत्रमा यतिबेला सर्वसाधारणको आकर्षण बढेको छ ।प्रसिद्ध धार्मिक स्थल सताक्षीधामको दिगम्बेश्वर महादेवको मन्दिरमा गजुर स्थापना गरिएपछि धामको स्वरूप झन् मनमोहक देखिएको स्थानीय बासिन्दाले बताए । धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिने यो धाममा गजुर राखिएपछि स्थानीय बासिन्दा र भक्तजनहरूको बीचमा यतिबेला उत्साह बढेको छ ।

मन्दिरको गजुर सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईको संयोजकत्वमा निर्माण भएको हो । विभिन्न दाताहरूले दिएको आर्थिक सहयोगका कारण मन्दिरमा गजुर निर्माण भएको राईले बताए ।

मन्दिरमा गजुर राख्न संयोजक आफैंले ३ लाख ५४ हजार २०३ रुपैयाँ प्रदान गरेका छन् । यस्तै सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले १ लाख ६५ हजार खर्चेको छ भने गङ्गा माताले १ लाख १५ हजार प्रदान गरेकी थिईन् । सावित्रा कटुवाल माताले १ लाख १११ प्रदान गरेको संयोजक राईले बताए । यस्तै राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय मोतीबहादुर चापागाईको स्मृतिमा एक थान गजुर प्राप्त भएको संयोजक राईले जानकारी दिए ।

गजुर निर्माणका लागि १२ लाख २७ हजार ९९५ संकलन भएको थियो । संकलित रकममध्ये ११ लाख ९७ हजार ८४१ खर्च भएको संयोजक राईले बताए । ‘यो कार्यक्रमबाट ३० हजार १५४ बचेको छ,’ उनले भने ।
सुनजस्तै देखिने पहेलो रङले गजुरलाई सिङगारिएको छ । ‘परबाट हेर्दा सुन जस्तै देखिन्छ,’ स्थानीय परमानन्द पौडेलले भने । गजुरलगायत मन्दिरको रङरोकनले सताक्षीधाम क्षेत्रको सौन्दर्यलाई थप निखारेको उनले बताए ।

‘गजुर मन्दिरको महत्वपूर्ण अंश हो । जसले यसको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढाउँछ,’ समितिका उपाध्यक्ष समेत रहेका गजुर निर्माण समितिका संयोजक राईले भने ‘गजुर राखेपछि यहाँ आउने भक्तजनलाई एक प्रकारको आध्यात्मिक ऊर्जा मिल्ने विश्वास गरिएको छ ।’

मन्दिरमा गजुर राखिएपछि मन्दिरको रूप परिवर्तन भएको छ । अहिले हेर्दा निकै आकर्षक र शान्तिपूर्ण देखिन्छ । स्थानीयले भने, ‘ सताक्षीधामको दिगम्बेश्वर शिवालय मन्दिर हिन्दुहरुको धार्मिक आस्थाको प्रतीक हो ।’ गजुर राखिएपछि सताक्षीधाम झन् बढी चम्किलो देखिएको छ । साँझको समयमा गजुरमा परेको प्रकाशको झल्कोले मन्दिरलाई दिव्य रूप प्रदान गर्दछ । यसले धार्मिक पर्यटकीय विकासलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

२०४१ सालअघि यो मन्दिर थियो । तर माटोको प्रतिमा बनाई केही साधु सन्तले दिगम्बेश्वर महादेवको पूजा आराधना गर्थे । २०४१ सालमा एसपी हर्कध्वज राईले मूर्ति निर्माण गरेपछि स्थायी संरचना निर्माण गरेर दिगम्बेश्वर महादेवको मूर्ति राखिएको मन्दिरकै साधु धर्मप्रसाद कोईरालाले बताए । उनले भने,‘ म भारतबाट घुम्न यहाँ २०२९ सालमा आएको थिए । त्यतिबेला घना जंगल थियो ।’ कमेरो माटोको दिगम्बेश्वर महादेवको मूर्ति त्यतिबेलै थियो तर ,यो मूर्ति कसले बनायो भन्ने विषयमा केही नखुलेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्