झापा,मंसिर १४ । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी हर्मोनको औषधी प्रयोग गरेको पाइएको छ । यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएकी एन्जल लामाले यौनिक तथा अल्पसंख्यक व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताइन् । पारालैङ्गिकमध्ये ८० प्रतिशतले चिकित्सकको परामर्शबिना हर्मोनको औषधी सेवन गरिरहेको जानकारी दिँदै लामाले चिकित्सकको सल्लाह र परीक्षणबिना हर्मोनको औषधी सेवन गर्न नहुने बताइन् । उनले लिङ्ग परिवर्तन गर्न नेपालमा सम्भव नभएको भन्दै आर्थिक क्षमता भएकाहरू भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पनि लिङ्ग परिवर्तन गराइरहेको बताइन् । उनले शल्यक्रिया गर्न नसक्नेहरूले नेपालमा जथाभावी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेको बताइन् । उनले आफूखुसी हर्मोनको औषधी सेवनबारे व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताइन् ।
हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराईले हर्मोनको जथाभाबी सेवन गर्दा समस्या हुने बताए । उनले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने गरे पनि कतिपयले भने आफूखुसी खाने गरेको बताए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले हर्मोन सेवन गर्दा चिकित्सकको परामर्शमा परीक्षण गरेर मात्र सेवन गर्न सुझाव दिए । उनले हर्मोनल पिलहरू टेस्टोस्टेरोन, इस्ट्रोजेन र प्रोजेस्ट्रोनले शरीरको हर्मोनल सन्तुलनमा परिवर्तन ल्याउन सक्ने जानकारी पनि दिए ।