झापा,मंसिर १६ । ताप्लेजुङको हिमाली बस्ती लेलेप घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न सुरु भएपछि चिसो छल्न अर्थात् चिसोबाट जोगिनलाई घुन्साका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप घुन्साको उचाइ समुद्री सतहदेखि तीन हजार ४७५ मिटर छ । जिल्लाकै उच्च हिमाली बस्ती ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर) पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती घुन्सा हो । पछिल्लो केही दिनयता चिसो अत्यधिक बढ्न थालेकाले गाउँ छाड्न सुरु भएको घुन्साका स्थानीय पेमा शेर्पाले बताए ।
शेर्पाका अनुसार हालसम्म चार-पाँच परिवारले घुन्सा छोडिसकेका छन् । चिसो छल्न गाउँ अर्थात् घुन्सा छाड्ने परिवारहरू काठमाडांै गएको शेर्पाले जानकारी दिए । उनका अनुसार हाल घुन्सामा ३३ परिवारको बसोबास छ । उक्त संख्यामध्ये आठ÷नौ परिवारबाहेक सबैले चिसो छल्न गाउँ छाड्ने गरेको उनको भनाइ छ ।
शेर्पाको परिवारले पनि अबको एक साताभित्र घुन्सा छोड्ने तयारी छ । यस पटकको चिसो छल्न घुन्सा छोडेर सदरमुकाम फुङ्लिङ गएर बस्ने योजना रहेको उनले बताए । फलेकी स्थानीय फुटी शेर्पाले पनि जाडो बढ्न थालेकाले गाउँ छाड्ने योजना बनाउन थालेको बताइन् । अब एक÷डेढ साता सम्ममा चिसो छल्न धेरैले गाउँ छाड्ने तयारी गरिरहेको शेर्पाको भनाइ छ । अहिले हिमपात नभए पनि हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको उनले बताइन् ।