बिर्तामोड, मंसिर २२ । झापाको बिर्तामोड– ४ स्थित लालीगुराँस भक्तवारी टोलमा नयाँ वृद्धाश्रम (स्नेहा माया घर)को स्थापना भएको छ । शनिवार एक औपचारिक समारोहकाबिच माया घरको उद्घाटन गरिएको हो ।

गुरुप्रसाद–डिकमाया ओझा फाउण्डेशनले माया घर सञ्चालनमा ल्याएको हो । बिर्तामोडका समाजसेवी गुरुप्रसाद ओझाको परिकल्पनामा फाउण्डेशन शुरु गरिएको हो । फाउण्डेशनले वृद्धाश्रम, बालआश्रम र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि आश्रम सञ्चालन गर्ने सदस्य हरि ओझाले जानकारी दिए ।

गत बर्षबाट सञ्चालनमा आएको माया घरको समाजसेवी तथा शिक्षासेवी गुरुभक्त न्यौपानेले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरे । हाल माया घरमा ३ वृद्धा र २ जना वृद्ध आश्रित छन् ।

विशुद्ध सामाजिक भावनाले सञ्चालनमा ल्याइएको माया घरलाई सहयोग गरिदिन अध्यक्ष गुरुप्रसाद ओझाले आग्रह गरे । कार्यक्रमकै बिच हाल अमेरिकामा रहेका भाईले पठाएको ब्ल्याङ्केट दिदी पवित्रा निरौलाले वृद्धवृद्धालाई प्रदान गरेकी थिइन् ।
नेकपा माओवादी केन्द्र बिर्तामोड ४ का अध्यक्ष राकेशकुमार सिंह, समाजसेवी ध्रुवकुमार शिवाकोटी, लालीगुराँस भक्तबारी टोल विकास संस्थाका अध्यक्ष कान्तिबहादुर कार्की, सिद्धिविनायक भजन कीर्तन मण्डलीकी अध्यक्ष गिता पोखरेल, बिर्तामोड ४ का पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले सन्तान भएका बुवाआमा वृद्धाश्रम आउने वातावरण बन्न नहुने तर, सहारा नै नभएका वृद्धवृद्धाका लागि आश्रम अतिआवश्यक भएको बताउँदै वृद्धाश्रमको वृद्धिविकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम ओमशान्तिकी पूर्णिमा दिदीले सञ्चालन गरेकी थिइन् ।

यसअघि बिर्तामोड एक किलोमिटरमा रहेको परोपकार अनुसन्धान केन्द्र (वृद्धाश्रम) फाउण्डेशनका अध्यक्ष ओझाकै नेतृत्वमा शुरु गरिएको थियो । उनले तारा नमस्ते बालग्राम, ओमशान्ति, उप्रेती भवन, सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरलगायतलाई जग्गा प्रदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्