झापा, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् ।
एमाले जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् । विगत चार–पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए । नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो ।
‘४–५ वर्षअगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछन् । त्यो नक्कली चिर्कटो १ करोड ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन् । यस्ता खालका मानिसहरू पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन्,’ ओलीले भने, ‘तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त ? बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाइमा अडिग छौँ । इमानदारी थोपरेर होइन, आफूभित्रबाट आउनुपर्छ । भित्रबाट इमानदार आचरण गर्नुपर्छ । भित्रबाट इमानदार अभ्यास गर्नुपर्छ ।’
एमालेको अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले नेपालमा फेरि राजतन्त्र फर्किने कुरा कल्पना गर्न नसकिने जिकिर गरे । ओलीले २०६५ मै समूल अन्त्य भइसकेको राजतन्त्र अब कहिल्यै फर्किन नसक्ने दाबी गरे । ‘अब एउटा व्यक्तिलाई कुर्सीमा राखेर जनता रैती हुन तयार छैनन्,’ ओलीले थपे ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।