झापा,मंसिर २५ । मुलुकको कुल जनसंख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको संख्या ४४ लाख १० हजार ४४६ पुगेको हो । जुन कुल जनसंख्याको १५.१२ प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकसम्मको उक्त विवरण अनुसार साउनदेखि असोजसम्मको अवधिमा एक लाख ६१ हजार ७१४ जना व्यक्तिगत करदाता थपिएका छन् । थपिएको उक्त संख्यासँगै व्यक्तिगत करदाताको संख्या ४४ लाख नाघेको हो ।
समीक्षा अवधिमा २९ हजार ३४४ ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको कुल संख्या १९ लाख ७३ हजार ४४५ पुगेको छ । कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बरको संख्या ३४ हजार ६५ पुगेको छ । यसबिचमा केवल ७३७ वटा त्यस्ता संस्थाले यस किसिमको स्थायी लेखा नम्बर लिएका छन् ।
उद्योग, व्यवसाय, पेसा, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, जारी गर्ने बिलबीजकसहित करसम्बन्धी सम्पूर्ण विवरणमा स्थायी लेखा नम्बर अनिवार्य गरिएकाले यसमा सहभागी हुनेको संख्या बढ्दो छ ।
सरकारले आव २०७६÷७७ मा एक व्यक्ति एक स्थायी नम्बरको अवधारणा अघि सार्दै प्रत्येक कारोबारका लागि यस्तो व्यवस्था अनिवार्य गरेपछि दर्ता हुनेको संख्या त्यसयता निरन्तर बढिरहेको मन्त्रालयकै विवरणले देखाउँछ । यसबाहेक तीन महिनाको अवधिमा छ हजार ४६३ वटा फर्म मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् ।
थपिएको उक्त संख्या मुअकरमा दर्ता हुनेको कुल संख्या तीन लाख ३३ हजार ८८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ । अन्तःशुल्कमा दर्ता हुनेको संख्या अहिलेसम्म एक लाख २० हजार ६५५ पुगेको छ । समीक्षा अवधिमा तीन लाख २८७ वटा फर्म अन्तःशुल्कमा दर्ता भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्