बिर्तामोड, मंसिर २७ । विगतदेखि आफ्नो जन्मदिनमा विभिन्न रचनात्मक कार्य गर्दै आएकी संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले यस वर्ष आफ्नो जन्मदिनमा एकजना दृष्टिविहीन असहाय महिलालाई सहयोग गरेकी छन् ।
विगत ६ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील खड्काले यस वर्ष आफ्नो जन्मदिनमा बिर्तामोड – २ बालुवाटार बस्ने दृष्टिविहीन असहाय एकल महिला ५७ वर्षीया धामुसरी राजवंशीलाई खाद्यान्न सामग्री दिएर सहयोग गरेकी हुन् । आफूले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी दीनदुःखीहरुलाई सहयोग गर्दै आएको उनले बताइन् । विगतका वर्षहरुमा पनि उनले बाल आश्रम र बृद्धाश्रममा जन्मदिन मनाएकी थिइन् ।
यसैबीच संयुक्त महिला आवाज नेपाल बाह्रदशी शाखाको आयोजनामा सेनेटरी प्याड बनाउने तीन दिवसीय तालिम सम्पन्न भएको छ । बाह्रदशी –५ मा सम्पन्न तालिममा ५० जना महिला सहभागी थिए । बाह्रदशी ५ नं वडा कार्यालयको सहयोग रहेको तालिममा निता कार्की र हेमकुमारी श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम लिएका महिलाहरुलाई स्वआर्जनमा लगाउन वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
यसअघि संयुक्त महिला आवाज नेपालको आयोजनामा हल्दिवारीमा नौमती बाजासम्बन्धी तालिम गरिएको थियो । महिलाहरुलाई स्वरोजगार र स्वाबलम्बी बनाउन त्यस्ता आयमूलक र सीपमूलक तालिमहरु आयोजना गरिएको खड्काले बताइन् ।
गत वर्षको भदौमा महिलाहरूको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको थियो । बिर्तामोड नगरपालिका–२ निवासी खड्काको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो । खड्का यसअघि महिला हिंसा न्यूनीकरणका लागि कार्यरत संस्था मेची–महाकाली बुहारी संयुक्त आवाजको संस्थापक झापा अध्यक्ष थिइन् ।