झापा, मंसिर २८ । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत आज तीनै तहको निर्वाचन हुँदैछ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। यसक्रममा झापा शाखाको पनि नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान १० बजेदेखि ४ बजेसम्म बिर्तामोडको अग्रसेन भवनमा मतदान हुने भएको हो । जम्मा २० कार्यसमिति , १३ प्रदेश परिषद सदस्य र ४ केन्द्रीय परिषद सदस्यका ५४ जना उम्मेद्वार बनेका थिए ।

त्यसमा १३ प्रदेश परिषद सदस्य निर्विरोध भइसकेका छन् भने कार्यसमितिको सहसचिव र दलित सदस्य पद पनि निर्विरोध भएको छ । सहसचिवमा रमेश तिवारी निर्विरोध भएका हुन् । नरेन्द्र ढकालले उम्मेद्वारी फिर्ता लिएपछि तिवारी निर्विरोध भएका हुन् । त्यस्तै किशोर उपरकोटीले उम्मेद्वारी फिर्ता लिएपछि दलित सदस्यमा मनकुमार गदाल निर्विरोध भएका छन् । त्यस्तै चारजना केन्द्रीय परिषद सदस्यमध्ये दुईजना निर्विरोध भएका छन् । विशाल नेम्बाङ र लीला अनमोल निर्विरोध भएका हुन् । आज कार्यसमितिको १८ र केन्द्रीय परिषद सदस्यको २ गरी २० पदका लागि निर्वाचन हुने भएको हो ।

महासंघको झापा शाखाको अध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन् । अध्यक्ष पदका लागि एकराज गिरी , डिकेश लामा , राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् । दुईवटा प्यानलसंगै अन्य दुईजनाको अध्यक्षमा उम्मेद्वारी परेको हो । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्