झापा, पुष २ । वीरता लेडी जेसीजको निर्वाचन गराउँदा त्रुटि भएको स्वीकार गर्दै निर्वाचन समितिले क्षमा याचना गरेको छ ।

झुमा चुडालले चुनावी प्रक्रियामा भाग नलिई आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षको पदका एक मात्र उम्मेदवार निशा शाक्य कायम रहेपछि स्वतः विजयी हुने भएकाले निर्वाचन समितिले माइन्युट लेख्ने क्रममा माइन्युटमा मत सम्बन्धी विवरण उल्लेख हुन गएको र यसबाट पर्न गएको असरप्रति क्षमा याचना गरेको हो । निर्वाचन अधिकृत संगिता गिरी , सदस्यहरु संगिता चिमरिया र सरु भुर्तेल खनालले आज एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचन समितिले कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखेको र कसैको मानहानी नगरेको स्पष्ट पारेका छन् । उनीहरुले जेसीजको विधि विधान र निर्वाचनसम्बन्धी स्थापित मान्यताहरुलाई अवलम्बन गरी निर्वाचन समितिलाई सुम्पिएको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

‘हाम्रो उद्देश्य विधिसम्मत निर्वाचन सम्पन्न गर्नुबाहेक अरु केही नरहेको अवस्थामा निर्वाचनको परिणामलाई लिएर विभिन्न समाचारहरु प्रकाशित प्रसारित भएकोमा हामी निर्वाचन समिति दुखित छौं। निर्वाचनसम्बन्धी निर्णय लेखनका क्रममा नियतवश कुनै भाषा प्रयोग नगरिएको जानकारी गराउँदछौं’विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्