झापा,पुष ३ । कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताइन् । उनका अनुसार गत वर्ष ४.२४ प्रतिशत धान उत्पादन भएको थियो ।

कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कोशी प्रदेशका अधिकतर स्थानमा धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

कोशी प्रदेशको तराईका जिल्लामा एक लाख ९१ हजार ७७६ हेक्टर क्षेत्रफलमा यस वर्ष धान रोपाइँ भएको थियो । उत्पादन नौ लाख २१ हजार ७२९.०६ मेट्रिक टन छ भने उत्पादकत्व प्रति हेक्टर ४.८१ मेट्रिक टन रहेको सूचना अधिकृत गुरुङले जानकारी दिइन् ।

मध्यपहाडमा ६३ हजार ८३७ हेक्टर क्षेत्रफलमा यस वर्ष धान रोपाइँ भएकोमा उत्पादन एक लाख ९२ हजार २२१.८५ मेट्रिक टन छ । मध्यपहाडको उत्पादकत्व ३.०१ मेट्रिक टन प्रति हेक्टर छ ।

उच्च पहाडमा १४ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा उत्पादन ३९ हजार ३४०.३० मेट्रिक टन भने उच्च पहाडको उत्पादकत्व २.६५ मेक्ट्रिक टन प्रति हेक्टर छ ।

सूचना अधिकृत पूर्णमाया गुरुङका अनुसार ताप्लेजुङ जिल्लामा पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा उत्पादकत्व २.८५ मेक्ट्रिक टन प्रति हेक्टर छ । सङ्खुवासभामा आठ हजार ६८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा उत्पादन २० हजार १७० मेट्रिक टन छ । उत्पादकत्व २.५० मेट्रिक टन रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै सोलुखुम्बुमा एक हजार २२५ हेक्टरमा धान रोपाइँ भएकोमा उत्पादकत्व २.७३ मेट्रिक टन प्रति हेक्टर छ । पाँचथरमा पाँच हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा उत्पादकत्व २.३७ मेट्रिक टन प्रति हेक्टर छ ।

इलाममा एक हजार ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा उत्पादकत्व ३.३५ मेट्रिक टन प्रति हेक्टर छ ।

त्यस्तै, तेह्रथुममा छ हजार ५४९ हेक्टरमा धान खेती गरिएकोमा उत्पादकत्व २.३७ मेट्रिक टन प्रति हेक्टर छ ।

धनकुटामा चार हजार ४४५ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व ३.३३ मेट्रिक टन प्रति हेक्टर छ ।

भोजपुरमा धान रोपाइँ भएको क्षेत्रफल ११ हजार १४७ हेक्टरमा उत्पादकत्व २.९६ मेट्रिक टन प्रति हेक्टर छ । खोटाङमा नौ हजार ४१७ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व २.२५ मेट्रिक टन प्रति हेक्टर छ ।

ओखलढुङ्गामा तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा उत्पादकत्व २.५० मेट्रिक टन प्रति हेक्टर छ । उदयपुर जिल्लामा १२ हजार ७९४ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व चार मेट्रिक टन प्रति हेक्टर छ ।

कोशी प्रदेशको तराईको जिल्ला झापामा ७३ हजार ९५० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा उत्पादकत्व ५.०५ मेट्रिक टन प्रति हेक्टर छ ।

मोरङमा ६९ हजार ८१७ हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा उत्पादकत्व ४.८० मेट्रिक टन प्रति हेक्टर छ ।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा उत्पादकत्व ४.४४ मेट्रिक टन प्रति हेक्टरछ । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ हेक्टर छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्