झापा, पुष ५ । झापाको बुद्धशान्तिमा भएको मोटरसाइकल दुर्घटनामा इलाममा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक(असई) गंभीर घाइते भएका छन् ।

गएराति अन्दाजी ८ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –३ कालीखोलास्थित मेची राजमार्गमा इलामबाट बुधबारेतर्फ आउँदै गरेको प्र १–०२ ०४५ प ५०७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय अनिलप्रसाद भण्डारी गंभीर घाइते भएका हुन् ।
प्रहरी चौकी जौवारी इलाममा कार्यरत मोटरसाइकल चालक झापा गौरादह जुरोपानी बस्ने भण्डारीको टाउकोमा गंभीर चोट लागेको छ । अचेत अबस्थाका भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।