बिर्तामोड, पुष ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा संचालन भइरहेको झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो ।
खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको हो। सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो ।
चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्काे दबाबमा परेको थियो ।
सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।
खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ ।
खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौँबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुष ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्साहित गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।