२६ स्वर्णसहित ४६ पदक

लक्ष्मी उप्रेती
बाहुनडाँगी । साविक विजेता झापाको धुलावारी माध्यमिक विद्यालयले पाँचौ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ ।

लगातार तेस्रो पटक मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दैं शिल्ड आफ्नो कब्जामा पारेको हो ।

मेचीनगर नगरपालिका –२ बाहुनडाँगीस्थित मेची जनसाधारण माध्यमिक विद्यालय परिसरमा पुष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी ५३ वटा विद्यालयलाई पछि पार्दै धुलावारी मावि प्रथम बनेको थियो ।
धुलावारी मावि २६ स्वर्ण, १२ रजत र ८ कास्य गरि कुल ४६ वटा पदकसहित प्रथम भएको थियो ।

यसैगरी १३ स्वर्ण , ८ रजत र १३ कास्य गरी कुल ३४ पदक प्राप्त गर्दैं बालसुबोधिनी मावि मेचीनगर– १४ दुहागढी दोस्रो तथा ४ स्वर्ण , ४ रजत र ४ कास्यसहित कुल १२ पदक प्राप्त गरी काँकडभिट्टा माध्यमिक विद्यालय मेचीनगर – ६ काँकडभिट्टा तेस्रो भएको छ ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडा नम्बर –२ का वडाध्यक्ष दीपक बराल, मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी , नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक ह्रदय राजवंशी , वडा नम्वर २ का वडा सदस्य हरिनारायण न्यौपानेलगायतले विभिन्न विधाका विजयी विद्यार्थीलाई शिल्ड, ट्रफी, मेडलसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा मेचीनगरका ५४ वटा विद्यालय सहभागी थिए । जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालयको व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा छनौट भएका विभिन्न विधाका ११० खेलाडीले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यसपछि छनौट भएमा प्रदेश र केन्द्रीय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी जनाउन पाउने मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्