बिर्तामोड, पुष ६ ।  सहकारीका सबै संचालकहरु ठग हुन् भन्ने भाष्यप्रति  झापाका  सहकारी संचालकहरुले आपत्ति जनाएका छन् ।दुई–चार जनाले गलत गर्यो भन्दै समग्र सहकारी संचालकहरुमाथि नै त्यसरी गंभीर आरोप लगाउनु ठीक नभएको  उनीहरुको भनाई छ ।


जनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ को दशौं वार्षिक साधारण सभामा सहभागी सहकारी संचालकहरुले त्यस भाष्यलाई चिर्न आवश्यक भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले कसैको पैसा नखाएको र कसैलाई हानि नोक्सानी नगर्दा पनि गाली खानु परिरहेको गुनासो गरे । एकातिर ऋण नतिर भन्ने अनि अर्कोतिर बचत फिर्ता गर भनेर अप्ठ्यारो पार्दै सहकारीहरुमाथि चौतर्फी हमला भइरहेको भन्दै उनले राज्यसमेत सहकारीप्रति उदासिन रहेको आरोप लगाए । देशभरिका ७५३ वटा स्थानीय तहमध्ये करिव ४ सय वटा प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सहकारीहरुको नियमन नभएकै कारणले गर्दा पनि समस्या आएको उनले बताए । वास्तविक ठगहरु संसद भवनमा कानुन बनाउने ठाउँमा रहेको भन्दै उनले भने,‘हामीलाई सहकारी ठग नभन्दिनु होला ।’

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाँई , बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली , कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ , माँ पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिर लिङ्देनले पनि सहकारीमाथि प्रहार भइरहेकोमा गुनासो गरेका थिए ।

संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विष्णुप्रसाद योङहाङ र संचालन सचिव मणिराज दंगालले गरेका थिए ।

त्यस अवसरमा जेष्ठ सदस्य , असल बचतकर्ता , असल ऋणी र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । जेष्ठ सदस्य कालुमाया कार्की तथा बचतकर्ता र ऋणीमा भाद्रलाल राजवंशी र रानी शाह कानुलाई सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा चम्पा बराल, जशोदा कन्दङ्वा , अप्सरा खतिवडा र तुलसा बजगाँई सम्मानित भएका छन् ।

त्यस्तै सबैभन्दा बढी सदस्य विस्तार गर्ने बिर्तामोड सेवाकेन्द्र , धेरै ऋण असुली गर्ने चन्द्रगढी सम्पर्क केन्द्र र धेरै बचत संकलन गर्ने शनिश्चरे सेवाकेन्द्रलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक डिल्लीराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्