अर्जुनधारा, पुष ७ । आर्थिक अनियमितता गरेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिहरुले झापाको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका छन् ।

वन उपभोक्ता समूहकी सचिव प्रभा नेपालले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्का जनप्रतिनिधि मदन लिङ्देनलगायतको टोलीले कार्यालयको लेखा शाखामा ताला लगाएको हो । सचिव नेपालले गत आर्थिक वर्ष २०८०–०८१ को असार ३० गते १७ किवी काठ बिनाबिल बिक्री गरेकी थिइन् । त्यस अनियमितताका बारेमा कुरा उठेपछि उनले ५० दिनपछि आर्थिक वर्ष २०८१–०८२ को भदौ २० गते त्यसको रकम जम्मा गरेकी थिइन् । त्योसंगै अरु पनि आर्थिक अनियमितता भएको हुनसक्ने आशंकामा आफूहरुले लेखाको काम रोकिदिएको जनप्रतिनिधि लिङ्देनले जानकारी दिए । सचिवले बिल नगरी काठ बिक्री गरेको घटना सार्वजनिक भएपछि वडाध्यक्षको नेतृत्वको टोली आएर लेखा शाखामा ताला लगाएको वन समूहका अध्यक्ष चन्द्र प्रसाईले बताए ।

सो घटनापछि सचिव नेपालले हिजै राजीनामा दिएकी छन् भने सहसचिव विकास लिम्बूलाई निलम्बन गरिएको छ । वन समूहमा भएका आर्थिक अनियमितताका बारेमा छानविन गर्न सर्वदलीय बैठकमार्फत छानविन समिति गठन गरिने लिङ्देनले जानकारी दिए । भोलि सर्वदलीय बैठक बोलाइएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन अब करिव १७ दिन मात्र बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्