झापा,पुष ७ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०८०-८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको संख्याभन्दा चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा यसरी मर्ने गैँडा दोब्बरभन्दा बढी छ ।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अविनाश पुनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा मरेका १२ वटा गैँडामध्ये प्राकृतिक कारणले मर्नेको संख्या ११ वटा छ । जब कि अघिल्लो आर्थिक वर्षको यही अवधिमा मरेका आठ वटा गैँडामध्ये पाँच वटा प्राकृतिक कारणले मरेका हुन् । यो वर्ष विद्युतीय धरापमा परेर एउटा गैँडा मरेको छ भने अघिल्लो वर्ष तीन वटा गैँडा चोरी सिकारीले मारेका छन् ।
अधिकृत पुनले निकुञ्जमा आपसमा जुधेर, ढिस्कोबाट लडेर, दलदलमा फसेर, बाघले खाएर, बिरामी भएर र बुढो भएर मर्ने गैँडालाई प्राकृतिक कारणले मरेको भनिने जानकारी दिए ।
गत मंसिर ७ गते मझुवा मध्यवर्ती वनमा ३१ वर्षको पोथी र मंसिर १३ गते ध्रुवपोस्टनजिकै ३५ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको र त्यो कालगतिले मरेको निकुञ्जले विज्ञप्ति निकालेर जनाएको थियो । उता गत वर्षको साउन २० गते नवलपरासीको अमलटारीस्थित श्रीपोस्टनजिकै करिब पाँच महिनाको गैँडाको बच्चा मृत भेटियो । यसको पोस्टमार्टम गर्दा बाघले सिकार गरेको भेटिएको पुनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्