झापा, पुष ८ । राष्ट्रिय सहकारी बैंकका नवनियुक्त अध्यक्ष महेन्द्रकुमार गिरीले सहकारी संस्थाहरुले अब लाभांश बाँड्न छोडेर सुविधा बृद्धि गर्नुपर्ने बताएका छन् । यति उति लाभांश दिन्छु भनेर सहकारीहरुले शेयर हाल्न लगाउने काम अब गर्न नहुने उनले बताए ।

सतासी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ५ को २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भने,‘ अब सहकारी संस्थाहरुले लाभांश दिने माइन्ड चेन्ज गर्नु पर्छ ।’ पहिलो पटक राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बनेका सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीले आफूले सहकारी बैंकलाई परिवर्तन नगरी ६ महिनासम्म भाषण गर्ने कार्यक्रममा सहभागी नहुने योजना बनाएको बताउँदै सतासी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्रममा सहारा नेपालको प्रतिनिधित्व गर्दै आएको धारणा राखे । राम्ररी चल्न नसकिरहेका सहकारीका डिपार्टमेन्ट स्टोर र सहकारी उद्योगलाई सस्तो व्याजमा ऋण दिने योजना रहेको सुनाए । नेतृत्वले चाहँदा परिवर्तन असंभव नरहेको भन्दै उनले सहकारी बैंकलाई परिवर्तन गरेर मूलधारमा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य केशब बस्नेत , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, महिला उद्यमी संघ झापाकी अध्यक्ष सुष्मा पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी र सतासी बहुउद्देश्यीय सहकारीका निवर्तमान प्रवन्धक सन्तोषकुमार श्रेष्ठलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य सचिव झलेन्द्रप्रसाद दाहालले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुजता गुरुङ थापा मगरले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्