झापा,पुष ८ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित तल्लो बगुवा टोलबाट प्रहरीले तीनथान भरुवा बन्दुक र मृगको मासुसहित दुईजना सिकारीलाई पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राई नेतृत्वको टोलीले बन्दुकसहितका सिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।
चतराको चारकोशे जङ्गलमा मृग मारेर मासु काटिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले बताए । बराहक्षेत्र नगरपालिकाका–१ का ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका सिकारीलाई सोमबार सार्वजनिक गर्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका सिकारीको साथबाट तीनथान भरुवा बन्दुक र ५ केजी मृगको मासु बरामद भएको प्रहरीले जनाएको छ । सिकारीहरूले सुनसरीको कोशी ट्प्पु, चतरा, नडाहा, बक्लौरी, तालतलैया, पानबारी,धरानलगायतको चारकोशे जङ्गलमा हरिण,बँदेल,मृग,कालिजलगायतका जंगली जनावरको सिकार गरी एक हजारदेखि १२ सय रुपैयाँ केजीका दरले बिक्री गर्दै आएको खुलेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्