
झापा,पुष ९ । भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल हुने जानकारी गराएको हो ।
उक्त फेस्टिभलमा विभिन्न पर्यटकीय स्थलहरूको प्याकेज अनुसार अवलोकन गराइने छ । होटल एशोसिएसन भेडेटारको आयोजना हुन लागेको फेस्टिभलको सह–आयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह छन् । उक्त फेस्टिभल आगामी पुस १६ गतेदेखि सुरु भएर १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आउने होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए ।
आगामी पुष १६ गतेदेखि सुरु हुने फेस्टिभलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल, कृषि तथा घरेलु सामाग्री बेचबिखनका साथै प्रदर्शनीमा राखिने आयोजकको भनाइ छ । फेस्टिभलमा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिनुका साथै करिब २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।