वीरु दर्नाल,
बिर्तामोड । बिर्तामोडस्थित विलिभर्स ईष्टर्न चर्चले आज बिभिन्न कार्यक्रम गर्दै ख्रीष्टमस पर्व मनाएको छ ।

हरेक वर्षको डिसेम्बर २५ तारिख मनाईने ख्रीष्टमस उत्सव आज विश्वभरि नै मनाईदैछ । प्रभू येशू ख्रीष्टको जन्मदिनलाई स्मरण गर्दै मनाईने यो पर्व ईसाई धर्मावलम्वीहरुले मनाउने गरेका छन् । पछिल्लो समय आजको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
चर्चका बिर्तामोड डायोसिस सेक्रेटरी तथा रेभरेन फादर डा. चित्रकुमार रुपाचाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि कार्कीले दीप प्रज्वलन तथा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि कार्कीले चर्च परिवारको अवस्थालाई देखेर पानीको फिल्टर उपलब्ध गराउने आश्वासन दिएका छन् ।
कार्यक्रममा जाडोको न्यानो कपडा बितरण गरिएको थियो । चर्चकै १२ जना जेष्ठ तथा असक्त परिवारलाई कपडा बितरण गरिएको चित्र बिकले जानकारी दिए । कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत , सुरु तथा अन्तिमको प्रार्थना डा. रुपाचा , बाईबलीय बचन डिकन फादर राजु खडियाले गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला, एमाले नगर अध्यक्ष सुवास भट्टराई , माओवादी उपाध्यक्ष जेबी जबेगु र सचिव गणेश कालीकोटे , राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतम , बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोला , बाह्रदशी ३ का पूर्व वडा अध्यक्ष वीरेन्द्र राजवंशी , देवभूमि बिद्यापीठ स्कुलका संस्थापक सुमन शर्मा जमरकट्टेल , अर्जुनधारा ७ वडा अध्यक्ष गोबिन्द खतिवडालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन वीरु दर्नाल , कृष्ण लिम्बू र पूजन लिम्बूले संयुक्तरुपमा गरेका थिए ।