झापा,पुष १४ । अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार आउँदै गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिँदै आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने पछिल्लो वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिँदै आएको छ ।
अर्थतन्त्रले सकारात्मक बाटो समाउँदा चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा जीवनबिमा कम्पनीले ६६ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । अहिले नेपालमा सञ्चालित १४ वटा जीवनबिमा कम्पनी र तीन लघु जीवनबिमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा कुल ६६ अर्ब १४ करोड ५३ लाख ३२ हजार रुपियाँ बराबर बिमा शुल्क सङ्कलन गरेका हुन् । समीक्षा अवधिमा १४ वटा जीवनबिमा कम्पनीहरूले मात्रै ६५ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले बिमा शुल्कलाई चार अर्ब ३८ करोड ७२ लाख ९६ हजार रुपियाँले बढाएका हुन् । पछिल्लो एक महिनामा मात्रै जीवनबिमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपियाँले बढेको हो । जीवनबिमा कम्पनीहरूले यो अवधिमा ५२ अर्ब आठ करोड १९ लाख रुपियाँ नवीकरण बिमा शुल्क र एक अर्ब १८ करोड ९७ लाख रुपियाँ वैदेशिक रोजगार बिमाशुल्क आर्जन गरेका छन् भने पहिलो बिमाशुल्क मात्रै १२ अर्ब ४७ करोड एक लाख रुपियाँ रहेको छ । अहिले कुल सक्रिय बिमालेख संख्या एक करोड ३३ लाख ४२ हजार २४६ वटा रहेको छ ।
मंसिर महिनामा मात्र जीवनबिमा कम्पनीले तीन लाख ७७ हजार ९२८ वटा बिमालेख जारी गरी १२ अर्ब ३४ करोड ८६ लाख रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् । यस्तै नवीकरण बिमाशुल्क नौ अर्ब ३९ करोड ४३ लाख रुपियाँ, वैदेशिक रोजगार बिमाशुल्क २७ करोड ८७ लाख र पहिलो बिमाशुल्क दुई अर्ब ६७ करोड ५४ लाख रुपियाँ रहेको छ । पहिलो बिमाशुल्क वैदेशिक रोजगारबाहेक हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्