
झापा,पुष १४ । दोस्रो चरणको स्टार्टअप कर्जा परियोेजनाका लागि ५ हजारभन्दा बढी प्रस्ताव आएका छन् । चालु आर्थिक वर्ष (२०८१÷०८२) मा स्टार्टअप कर्जाका लागि भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १५८ वटा प्रस्ताव प्राप्त भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो । २१ दिनको अवधि राखेर गरिएको आह्वान अनुसार भदौ ३१ गतेसम्म ५ हजार १५८ प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गर्नेको संख्याको तुलनामा दोस्रो चरणमा ५ गुणाले आवेदन बढेको पाइएको छ । पहिलो चरणको स्टार्टअप कर्जाका लागि १ हजार ६५८ प्रस्ताव पेस भएको थियो ।
सरकारले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमबाट ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको छ । यो कार्यविधिले २०८० मा बनेको कार्यविधिलाई प्रतिस्थापन गरेको हो ।
अब उद्यमीले ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कर्जा परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् । यसका लागि सरकाले चालु वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग र कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भएको छ ।
कार्यविधिले स्टार्टअप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित योग्यता तोकेको छ । सोही योग्यता र कार्यविधिलाई आधार मानी प्राप्त परियोजनाहरूको प्रारम्भिक सूची तयार गर्न प्रतिष्ठानले गठन गरेको मूल्याङ्कन समितिले छनोट गरिरहेको मन्त्रालयले जनाएको छ ।