झापा, पुष १४ । पाँचथरको फालेलुङमा क्रसरले हातको तीन वटा औला छिनेर एक कामदार घाइते भएका छन् ।

आज दिउँसो १ बजे फालेलुङ –३ हेवा खोला हाइड्रोपावरस्थित आँशु कन्स्ट्रक्सनको क्रसरमा काम गर्ने क्रममा कामदार बर्दिया गुलरिया –११ बस्ने ४१ वर्षीय तिलक थापा मगरको दाहिने हातको बिचको तीन वटा औला छिनेको हो ।


घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

यता झापाको कमल गाउँपालिका वडा न.४ स्थित रिजाल पेट्रोल पम्पमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । आज दिउँसो २.१० बजे रिजाल पेट्रोल पम्पस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको को.३०प. ९०४५ नम्बरको मोटरसाइकल दक्षिणतर्फ मोड्ने क्रममा सोही दिशाबाट आउँदै गरेको मे.४प. ६४५ नम्बरको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा ९०४५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका वडा न.७ बस्ने ३८ वर्षीय संदिप पौडेलको दाहिने खुट्टामा चोट लागेको छ भने मे.४प. ६४५ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा न.७ बस्ने २० वर्षीय सुन्दरराम चौधरीको मुखमा चोट लागेर दुईवटा दाँत झरेको छ । दुबै घाइतेको स्थानीय मेडिकल केर्खामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्