झापा, पुष १४ । लागूपदार्थ सेवन गरेर चालक र सहचालकले सवारी साधन चलाउँदा काँकडभिट्टाबाट धरान तथा बिराटनगर चल्ने धेरै सार्वजनिक सवारी साधनहरु दुर्घटनामा परेको चेकजाँचबाट पुष्टि भएको छ ।

चालक र सहचालकहरुले लागूपदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासोका आधारमा त्यस्ता सवारी साधनलाई लक्षित गरी ट्राफिक प्रहरीले गरेको चेकजाँचमा आधाजति सवारी साधनका चालक र सहचालकहरुले लागूपदार्थ सेवन गरेको भेटिएको हो । खासगरी काँकडभिट्टाबाट धरान तथा बिराटनगर चल्ने सार्वजनिक सवारी साधन दुर्घटनाको एउटा महत्वपूर्ण पक्ष लागूपदार्थको प्रयोग भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
दुई दिनअघि कमल गाउँपालिका– ३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागूपदार्थ सेवन परीक्षण कार्यक्रम संचालन गरिएको थियो । त्यसक्रममा १४ जनाले लागूऔषध सेवन गरेको भेटिएको थियो । दुर्घटनाका विविध कारणमध्ये लागूऔषधको प्रयोग महत्वपूर्ण कारण भएको प्रहरी निरीक्षक पौडेलले बताए । शंकास्पद चालक र सहचालकहरुको पिसावलाई किट परीक्षण गर्दा १४ जनामा पोजेटिभ भेटिएकाले उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको पौडेलले जानकारी दिए ।

लागूपदार्थ सेवन गर्नेहरुमा सार्वजनिक बस चालक ४ जना, सहचालक ६ जना, इभी चालक २ जना , सहचालक एक जना र मोटरसाइकल चालक एक जना रहेका छन् । उमेर समूहअन्तर्गत त्यस्ता चालक र सहचालकहरु १८ बर्षदेखि ५० बर्षसम्मको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । आशंकित २८ जना सवारी चालक र सहचालकहरुको पिसाव परीक्षण गर्दा प्रारम्भिक नतिजामा १४ जनामा लागूपदार्थ सेवन पोजेटिभ देखिएको सोडारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमक र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिका र लायन्स क्लब अफ दमक स्वीट सिटी÷ स्टन लाईनको समन्वयमा गरिएको उक्त कार्यक्रममा चालकहरुको रक्तचाप, आँखा तथा कान परीक्षणसमेत गरिएको थियो ।
झापामा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या बढेको गुनासोसँगै दुर्घटनासमेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच सुरु गरेको हो । तर, झापामा यसले नियमितता पाउन सकेको छैन । लागूपदार्थ सेवन (लापसे) परीक्षण गर्ने किट महंगो पर्ने र पर्याप्तरुपमा नभएका कारण यसलाई निरन्तरता दिन नसकिएको जनाइएको छ ।



