
झापा,पुष १७ । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि अनिवार्य गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अत्यन्तै न्यून आकर्षण देखिएको छ । जानुअघि अनिवार्य गरिएकाले योजनामा सहभागिता जनाउने तर बिदेसिएपछि भुक्तान गर्नुपर्ने किस्ता भने तिर्न छाड्ने गरेको पाइएको हो ।
सामाजिक सुरक्षा कोषले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ९० प्रतिशत व्यक्तिले यस्तो किस्ता भुक्तानी गर्न छोड्छन् । वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले कोषमा एक पटक योगदान गर्नेले नियमित गर्दा प्राप्त हुने प्रतिफलबारे जानकारी नहुँदा नियमित गर्नेको संख्या १० प्रतिशतमा सीमित भएको कोषको दाबी छ ।
कोषका अनुसार यही पुष १४ गतेसम्म १३ लाख ३८ हजार ६२७ जनाले वैदेशिक रोजगारीमा गएकामा करिब एक लाख ३२ हजारले नियमित योगदान गरेका छन् । बाँकी १२ लाख छ हजार ६२७ जना (९० प्रतिशत) ले कोषमा एक पटक योगदान गरेका छन् तर नियमित गरेका छैन ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार बाध्यकारी भएकाले श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुन्छन् तर यसको लाभबारे जानकारी नहुँदा नियमित गर्दैनन् । कोषमा नियमित भुक्तान गर्न व्यवस्था मिलाउन श्रम गन्तव्य देशमा कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । अघिल्लो महिना मात्रै कोषले ओमानमा रहेको नेपाली राजदूतावास र त्यहाँ रहेका गैरआवासी नेपाली सङ्घको समन्वयमा नियमित योगदान गर्दाको लाभबारे जानकारीमूलक कार्यक्रम गरेको थियो । अधिकारीले अन्य श्रम गन्तव्य देशमा त्यस्तै कार्यक्रम गर्ने तयारी रहेको बताए । औपचारिक क्षेत्रका पाँच लाख ५२ हजार श्रमिक योजनामा आबद्ध हुँदा ६८ अर्ब ६७ करोड योगदान रकम सङ्कलन भएको छ । जब कि वैदेशिक रोजगारीमा रहेका श्रमिक १३ लाख ३८ हजार ६२७ आबद्ध हुँदा करिब तीन अर्ब मात्रै रकम सङ्कलन भएको कोषले जनाएको छ ।