
झापा,पुष १८ । नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका तयार भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग जस्तै मधुमेह, रक्तचाप, मिर्गौलासम्बन्धी रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ सार्वजनिक गरेको हो ।
मन्त्रालयले मधुमेह, उच्चरक्तचाप, शरीरको उचाई र तौलको अनुपातको पहिचान गर्न हरेक वर्ष एक महिना अभियानकै रूपमा प्रारम्भिक पहिचान र नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिन स्थानीय स्वास्थ्य संस्थामा सामूहिक अभियान सञ्चालन गर्ने निर्देशिका तयार गरेको हो ।
अभियानको उद्देश्य प्रमुख नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरीरको उचाई र तौल अनुपातको स्थानिय तहका स्वास्थ्य संस्थामा प्रारम्भिक चरणमै पहिचान गर्ने, राष्ट्रिय प्रादेशक तथा स्थानीय तहमा हाल सञ्चालित कार्यक्रमहरू जस्तै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम, पेन कार्यक्रम समेतको संलग्नतामा अभियानमार्फत रोग पहिचान भएका व्यक्तिहरूको उक्त स्वास्थ्य संस्थामै प्रचलित प्रोटोकलको आधारमा उपचारको व्यवस्था गर्ने प्रोटोकोल अनुसार जटिलता पहिचान भएका बिरामीहरूलाई समन्वयात्मक प्रेषण गर्ने, सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरू जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान, अधिक नुनको प्रयोगलगायतका कमी ल्याउने उदेश्यको स्थानीय समुदायहरूको सहभागितामा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिको राष्ट्रिय अभियान सञ्चालन गर्ने रहेको छ ।