झापा , पुष २३ ।नेपाल र चीनको सीमामा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण संखुवासभा र सोलुखुम्बुमा घर भत्किएको छ ।


आज बिहान ६ः५१ बजे गएको भूकम्पले संखुवासभा भोटखोला–१ किमाथांका बस्ने ५२ वर्षीय तेन्छेदी शेर्पाको ढुङ्गाको गारो, टिनको छाना भएको २ तले घरमा क्षति पुगेको हो । उनको घरको वाल चर्किएको छ ।
त्यस्तै सोलुखुम्बु थुलुङ दुधकोशी –७ देउसा लुरुवा बस्ने ५० वर्षीय हर्कबहादुर खत्रीको घरमा पनि क्षति भएको छ । ढुंगाको गारो, टिनको छाना भएको ३ तले घरको माथिल्लो तलाको छेउ पट्टीको गारो भत्किएको प्रहरीले जनाएको छ ।

भूकम्पबाट देशभर मानवीय क्षति नभएको नेपाल प्रहरीले जनाएको छ। यद्यपि, नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढतले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ। ती व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । तर, उनीहरूको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट केही भौतिक क्षति भएको सामान्य विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार सिधुपाल्चोकको एक प्रहरी चौकीको भित्ता भत्किएको छ । रामेछाप र ओखलढुंगामा १÷१ वटा गोठको भित्ता भत्किएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन कार्य जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्