झापा पुष २४ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति विमति जनाएका छन्।

संविधान संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अभिव्यक्ति आएको भन्दै उनले आपत्ति जनाएका हुन् । बुधवार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेस र एमालेको वर्तमान सत्ता गठबन्धन रहेको बेला नै संविधान संशोधन गरेर जान्छौं भनेर सात बुँदे सहमति भएको स्मरण गराउँदै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीले भन्नुभएको मैले सुनेँ यदि उहाँले एमालेको बैठक हुँदैगर्दा भन्नुभएको संविधान संशोधन २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,’ शर्माले भने, ‘सात बुँदे समझदारी गर्दैगर्दा हामीले संविधान संशोधन आजको आवश्यकताको जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुईतिहाईको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गियर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्री र हाम्रो पार्टी सभापतिले दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ?’

प्रधानमन्त्री ओलीले मंगलबार पार्टी केन्द्रीय समितिको समापन गर्ने क्रममा २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेका थिए । शर्माले भने प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । ‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा ? के हो त पार्टीका साथीहरूको अपेक्षा ? गाउँगाउँको अपेक्षा के हो ? भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय– सवा सयमा सीमित गरौँला त्यो ठूलो कुरा होइन तर हामीले संविधान संशोधन गर्दैगर्दा यी विषयहरूको संशोधन गर्नु नै छ,’ शर्माले भने, ‘समानुपातिकलाई व्यवस्थापन गर्ने कुरा त गर्नु नै छ । तर सबैभन्दा गहन रुपमा छलफल गर्नुपर्ने विषय अबको संविधान संशोधनपछाडि यो देशले ७० वर्षमा एक पटक लगातार पाँच वर्ष एउटै प्रधानमन्त्रीले शासन नगरेको देशमा पाँच वर्ष निरन्तर टिक्ने प्रधानमन्त्री बनाउने भन्ने पद्धतिको खोजी गर्नुपर्ने कर्तव्य छ ।’

महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । बिनाछलफल २०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीका अध्यक्ष र कांग्रेसका महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरेका थिए ।महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए।
सरकारमा रहेका दुई राजनीतिक दलले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे।

त्यस्तै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताए । जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताए । उनले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताए । संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताए ।

देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई काँग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताए । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्