कुमरखोद , पुष २५ । झापा गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाले झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको आफ्नै सामुदायिक भवनमा आज एक दिवसीय निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । शिविरमा महिला १६० र पुरुष १२४ गरी २८४ जना विरामीले आँखा परीक्षण गराएको कुमरखोद उपशाखाका सभापति पशुपतिलाल गणेशले जानकारी दिए ।
शिविरमा आँखाका रोगीहरुको निःशुल्क चेकजाँच गरिनुका साथै औषधीसमेत वितरण गरिएको थियो । शिविरमा ९५ जनाको आँखामा मोतिया विन्दुको समस्या भेटिएको छ । ती मोतिया विन्दुका विरामीलाई मेची आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने कुमरखोद उपशाखाका सचिव प्रदिप गणेशले बताए । आँखा शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पताल सैनिकमोडको रहेको थियो ।