
झापा,पुष २८ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पानीमा आश्रित चराको गणना पाँच दिनसम्म गर्ने कार्यक्रम अनुसार सप्तकोशी नदीको चतरा क्षेत्रबाट गणना सुरु गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए । उनका अनुसार पाँच दिनसम्म आरक्ष क्षेत्रमा रहेको नदी क्षेत्र र तालमा पाइने चराको गणना गरिने छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले प्रत्येक वर्ष पुसमा चरा गणना गर्ने गरिएको बताएका छन् । चराविज्ञ तथा संरक्षणकर्मीको सहभागितामा चरा गणना हुँदै आएको छ । उनका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएकोमा दुई सय प्रजातिका चरा पानीमा आश्रित रहेका छन् । पानीमा आश्रित रहेका आगन्तुक र नेपालमै पाइने जलपन्छीको गणना गरिने संयोजक पौडेलले बताए । उन्ले भने, “पानीमा आश्रित चराको अवस्था के कस्तो छ भनेर प्रत्येक वर्ष गणना गर्ने गरिएको छ ।”
संयोजक पौडेलका अनुसार राष्ट्रव्यापी रूपमा नेपाल पन्छी सङ्घले जलपन्छी गणना सुरु गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समवन्यमा चरा गणना भइरहेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा कोशी पन्छी समाजले चराको गणनाको काम गर्ने भएको छ ।
पानीमा आश्रित चरामा हाँसका प्रजाति, बकुलाका प्रजाति, गरुडका प्रजाति, हुटिट्याउँलगायत पानीमा निर्भर रहने जलपन्छीको विज्ञद्वारा गणना गरिने राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजारको संख्यामा जलपन्छी गणना गरिएको थियो । चराको प्रजनन क्षमता घट्दै गएको हुँदा कोशीटप्पुमा पाइने चराको संख्या घट्दो क्रममा रहेको बताइएको छ । जाडो छल्न आउने चराले आरक्ष क्षेत्रमै बच्चा कोरल्ने गरेका छन् । किसानले खेतबारीमा हालेको विषका कारण मरेका किरा, फट्याङ्ग्रा खाँदा चराको प्रजनन क्षमता कमजोर हुँदै गएको र चराको संख्या घट्दो क्रममा रहेको स्थानीय चराका जानकार अनिश तिम्सिना बताउछन् ।



