
झापा,पुष २९ । सापकोटा बन्धुहरूको पुराण माघ महिनाको २ गतेदेखि सुरु हुने भएको छ ।
सापकोटा कल्याण केन्द्र कोशी प्रदेशको आयोजना र झापाको संयोजनमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को माइधार स्थित केन्द्रको आफ्नै भवन कौडिन्य आश्रममा माघ २ गतेदेखि ९ गतेसम्म श्रीमद् भागवत महापुराण आयोजना हुने केन्द्रका कोशी प्रदेश अध्यक्ष प्रजापती सापकोटाले बताए ।
कौडिन्य गोत्रीय सापकोटा परिवारका पितृहरूको उद्धार, कुल मन्दिर निर्माण, सभाहल निर्माण, वंशावली निर्माण, अक्षय कोष स्थापनाका लागि पुराणको आयोजना गरिएको हो । पुराणबाट ५० लाख आम्दामी हुन सक्ने आयोजक समितिले बताएको छ ।
पूर्वका लोकप्रिय प्रखर युवा पण्डित योगेश बराहाक्षेत्रको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुनेछ भने पण्डित गणेश सापकोटाको मुखारविन्दबाट दैनिक पाठपारायण एउटा हुनेछ ।
सापकोटा परिवारका सदस्यहरूले उक्त कार्यक्रममा विभिन्न धार्मिक र सांस्कृतिक क्रियाकलापहरू प्रदर्शन गर्नेछन् । धार्मिक विचार, ऋतीरिवाज र परम्पराहरूलाई जीवित राख्न श्रीमद्भागवत महापुराणको अर्को मुख्य उद्देश्य रहेको आयोजक ले जनाएको छ । माघ २ गते बिहान १० बजे कलश सहितको शोभा यात्रा पछि दिउसो २ बजे कार्यक्रमको भव्य उद्घाटन हुनेछ । प्रत्येक दिनको साँझमा सन्ध्या आरती, महात्म्य कथा, ज्ञानमन्च, भजन कीर्तन हुने छ ।
सापकोटा बन्धुहरुविच एकता र भाइचारा प्रवर्धन गर्नका लागि विभिन्न सामाजिक गतिविधिहरू पनि कार्यक्रममा आयोजना गरिनेछन् । आयोजकले सबै सापकोटा बन्धु, गोत्रिय बन्धु, चेलीबेटी , ज्वाई भिनाजु, भान्जा भान्जी, कुलकुटुम्ब र बन्धु बान्धवलाई यस पवित्र कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।