
झापा,पुष २९ । इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको हो ।
पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिए ।
प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावकको सबै विवरण राख्ने गरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षा सम्बन्धी एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले जानकारी दिए । अभिभावक शिक्षामा सहजकर्ताको समेत काम गरी रहेका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्ने गरी एप निर्माण गरिएको जानकारी दिए । ‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्न र त्यो समय उहाँहरुले विद्यालयका अन्य काममा खर्चन सक्नुहुन्छ,’ खनालले भने ।
अभिभावक उपस्थिति र मूल्याङ्कनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ । उक्त एपमा विद्यार्थी नियमित भए–नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे÷नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ । गाउँपालिकाले एक वर्षअघि देखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ । गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ ।
हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सय बढीलाई अभिभावक शिक्षा दिइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचय पत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिए ।