झापा, पुष २९ ।नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापा जिल्लाको नवौ अधिवेशन सम्पन्न भएको करिब ४ महिनापछि नेतृत्व चयन भएको छ।

नेकपा एमाले झापा जिल्ला कमिटी र अधिवेशनको अध्यक्ष मण्डलले नेतृत्वको टुङ्गो लगाएको हो।
राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदमा शिवसताक्षीका फुर्वा लामा (प्रदीप गोले) चयन भएका छन् । उनले यसअघि संयोजक भएर संगठनको काम गरेका थिए । शिवसताक्षीको राष्ट्रिय युवा संघको नेतृत्व सम्हालेपछि लामा झापा जिल्लाको संयोजक पदमा मनोनित भएका थिए। पार्टी जिल्ला कार्यालयमा सोमवार सम्पन्न पार्टी नेतृत्व र अध्यक्ष मण्डलको बैठकले नेतृत्वको टुङ्गो लगाएको पार्टी स्रोतले बताएको छ।

गएको असोज ९ गते झापाको झिलझिलेमा राष्ट्रिय युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन उद्घाटन भएको थियो। खुल्ला सत्रपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन ।

अध्यक्ष पदमा बिर्तामोडका विकास गिरी र शिवसताक्षीका लामाको उम्मेदवारी परेपछि अधिवेशनमा सहभागी प्रतिनिधिलाई युवा संघको नयाँ नेतृत्व चयनमा चुनौती थियो । हलबाट नयाँ नेतृत्व चयनको लागि दुवै उम्मेदवारले आ–आफ्नो अडान नछोडेपछि अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डल र एमाले झापाको नेतृत्वले अध्यक्ष पदको टुङ्गो लगाएको हो।

अध्यक्ष मण्डलले उपाध्यक्ष पदको अझै टुंगो लगाएको छैन। सचिव पदमा उमेश मिश्रलाई चयन गरेको छ। सहसचिवमा सुलभ भण्डारी र शुक्रराज लिम्बू चयन भएका छन् भने कोषाध्यक्ष पदमा संगीता खतिवडा चयन भएकी छन् ।
बाँकी अन्य पदमा यसै साता टुङ्गो लगाउने नेकपा एमाले झापाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्