झापा, माघ १ । झापाको अर्जुनधारा नगरपालिका वडा नं १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

एकजना उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका हुन् । उपभोक्ता समूहमा संकलित काठको लगतको परिमाणको बजारमूल्य अनुसार लेखापरीक्षणमा रकम नभएको, विना बिलविजक काठ संस्थाका पदाधिकारी एवं सदस्यहरुकहाँ पैठारी भएको कुरा आम उपभोक्ताले थाहा पाएको तथा संस्थाका पदाधिकारीबाट समेत स्वीकार गरी उपभोक्ताद्वारा हाल तालाबन्दी गरिएको अवस्थामा घटनाको सुक्ष्म छानविन गर्नुको साटो स्थानीय राजनीतिक दलको हवाला दिई मिलाउनलाई अनेक प्रपञ्च भएको पाइएकोले तत्काल संस्थाका आर्थिक कागजात तथा निर्णय पुस्तिका नियन्त्रणमा लिई छानबिन र कारबाहीको लागि अख्तियारमा उजुरी परेको हो । उजुरीको दर्ता नम्बर सी ०३८०८० रहेको छ ।

आर्थिक अनियमितता गरेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिसमेतले गत पुष ६ गते वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका थिए ।

यसैबीच कन्काई सव–डिभिजन वन कार्यालय सुरुङ्गाले हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा भएको सत्य तथ्य खुलाएर पठाइदिन अर्जुनधारा नगरपालिकाको १ नं वडा कार्यालयलाई पत्र पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको पत्रबाट व्यहोरा अवगत गरी उक्त उजुरीको सम्बन्धमा के कसो भएको हो ? हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा फर्जी विल तथा आर्थिक अनियमितता चरम रुपमा रहेको, कार्यालय सचिवसहितले विलविना काठ लगेको, बिल गरिसकेको बिलहरुको अर्धकट्टी नै नरहेको अवस्थासमेत सम्पूर्ण राजनीतिक दलहरुलाई जानकारी भैसकेकोले भित्रभित्रै मिलाउने प्रयास गरिरहेको भन्ने उजुरीको सम्बन्धमा के–कसो भएको हो विस्तृत रुपमा छानविन गरी छानविन प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्