
झापा,माघ २ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीमाथि गरिएको सर्वेक्षणमा शतप्रतिशतले विदेश जाने योजना बनाएको बताएका छन् । सर्वेक्षणमा सहभागी ४३ मध्ये ४१ जना (९५ प्रतिशत) ले विदेश जान परीक्षामा नाम दर्ता गराइसकेको पाइएको छ । सरकारद्वारा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । मुलुककै अब्बल शैक्षिक संस्था मानिएको आईओएमका मेडिकल विद्यार्थीको सोच र योजनाले मुलुककै समग्र स्वास्थ्य क्षेत्र र चिकित्सकको अवस्था दर्साउँछ ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांकले पनि बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै गएको देखाउँछ । तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भए । ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका छन् । उनीहरूले विदेशमा थप अध्ययन र काम गर्नका लागि उक्त प्रमाणपत्र लिनुपर्ने अवस्था छ ।
चार वर्षको तथ्यांक हेर्दा नयाँ दर्ता भएकामध्ये करिब ७४ प्रतिशत चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गए वा जाने योजनामा छन् । सन् २०२० मा ७ सय ६९ जना चिकित्सकले विदेश जान प्रमाणपत्र लिएकोमा २०२१ मा झन्डै दोब्बर १ हजार ३ सय २७ जनाले प्रमाणपत्र लिए । २०२२ मा विदेश जान प्रमाणपत्र लिने चिकित्सकको संख्या झनै वृद्धि भएर १ हजार ९ सय ५४ पुग्यो । २०२३ मा २ हजार ३ सय १८ जनाले प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ ।
२०२३ सम्म नेपालमा ३४ हजार ९ सय १० चिकित्सक दर्ता छन् । २०२० यता वार्षिक २ हजारदेखि साढे २ हजार चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् । केही वर्षयता दर्ता हुने संख्या हाराहारीमै चिकित्सक विदेश गइरहेको पाइएको छ । २०२२ मा २ हजार १ सय ३१, २०२१ मा १७ सय १६, २०२२ मा २ हजार ८५ र २०२३ मा २६ सय ९२ नयाँ चिकित्सक दर्ता भएका थिए ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव टंकप्रसाद बराकोटी संयोजकत्वको विज्ञ सम्मिलित समितिले नेपाली चिकित्सक विदेश जानुको कारणसमेत औंल्याएको छ । न्यून तलब–सुविधा, अध्ययन–अनुसन्धान र वृत्तिविकासको अभाव, परिष्कृत स्वास्थ्य संस्थाको कमी, स्वास्थ्य संस्थामा हुने हिंसाका घटनाका कारण विदेश जान बाध्य भएको प्रतिक्रिया समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन समितिले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बुझाएको छ । सरकारले दुई वर्षअघि समिति गठन गरेको थियो ।
२० भन्दा बढी मुलुकमा चिकित्सक गइरहेको मेडिकल काउन्सिलले जनाएको छ । तीमध्ये अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनीलगायतका देशमा नेपाली चिकित्सकको आकर्षण बढी देखिएको तथ्यांक छ । २०२३ मा ८ सय ४३ चिकित्सकले अमेरिका जान प्रमाणपत्र लिएका थिए ।
बेलायतका लागि ५ सय ५ जना, माल्दिभ्समा ३ सय ९५ जना, भारत जान १ सय ८६ जना, अस्ट्रेलियका लागि १ सय ६६ जना, यूएई जान १ सय ४२ जनाले प्रमाणपत्र लिए । २०२२ मा बेलायत जान ५ सय ९२, अमेरिका जान ४ सय ९६ र माल्दिभ्सका लागि ४ सय ५३ चिकित्सकले प्रमाणपत्र पाएका थिए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की राज्यको स्वास्थ्यसम्बन्धी नीति अस्पष्ट हुनुका साथै जनशक्ति उत्पादन तथा व्यवस्थापनसम्बन्धी कुनै योजना नहुँदा चिकित्सक विदेश जाने प्रवृत्ति बढेको बताउँछन् । ‘सरकारी अस्पतालमा दरबन्दी थपिँदैन, तलब र सुविधाभन्दा ड्युटी धेरै गर्नुपर्छ, तलब सुविधा वृद्धि हुँदैन,’ उनले भने ।
‘निजी अस्पतालमा झनै श्रमशोषण छ, उचित पारिश्रमिक पनि छैन । चिकित्सक सुरक्षित भविष्यको खोजी गर्दै विदेश जान बाध्य छन्,’ उनले भने । केन्द्रदेखि स्थानीय सरकारसम्मको अस्पष्ट स्वास्थ्यका नीति र कार्यक्रमका कारण पनि चिकित्सक नेपाल बस्न नचाहेको उनको भनाइ छ ।