
झापा,माघ ३ । वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको संख्या पछिल्लो पाँच महिनामा नौ प्रतिशतसम्म घटेको देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा ५९ हजार ५७५ जना वैदेशिक रोजगारीका लागि गएकामध्ये दक्ष भएर जानेको संख्या ४२ हजार ७९४ (७२ प्रतिशत) रहेकोमा संख्या चालु आवको मंसिरमा रोजगारीमा गएका ८४ हजार २२६ जनामध्ये ५३ हजार १५८ जना (६३ प्रतिशत) मात्रै दक्ष भएर गएका हुन् ।
विभागका अनुसार भदौमा ५७ हजार ४९३ जना गएकोमा ३७ हजार ७८३ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएका छन् । यस्तै असोजमा ५३ हजार ५२५ जना विदेश गएकोमा ३३ हजार ९१९ जना (६३ प्रतिशत) दक्ष भएर गएका छन् भने कात्तिकमा ७० हजार ९९० जना विदेश गएकोमा ४६ हजार ५५८ जना दक्ष श्रमिक विदेश गएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले दक्ष र अदक्ष मात्रै तुलना गर्दा पछिल्लो पाँच महिनामा दक्ष श्रमिक घटेको देखिए पनि अर्धदक्ष र उच्च सिपयुक्तसमेत तुलना गर्दा भने बढ्ने दाबी गरे।
चालु आवको पाँच महिनामा तीन लाख २५ हजार ८०९ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा दुई लाख १४ हजार २१२ (६६ प्रतिशत) दक्ष भएर विदेश गएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा अर्धदक्ष ३३ हजार ४४३ (१० प्रतिशत), अदक्ष ७६ हजार ८१ जना (२३ प्रतिशत) वैदेशिक रोजगारीमा गएका छन् भने उच्च सिपयुक्त दुई हजार २७६ जना (०.७० प्रतिशत) रोजगारीका लागि बिदेसिएका छन् ।



