झापा, माघ ३ । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिए । थापामगरका अनुसार गत वर्ष चार हजार २७०.३० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति पलायन हुने क्रमले कोदो खेती गर्न छाडिँदै गएको छ । त्यस्तै अन्य खेतीभन्दा झन्झटिलो र धेरै जनशक्ति लाग्ने भएकाले पनि कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो । खेती नै कम हुन थालेपछि उत्पादन घट्नु स्वाभाविक भएको कृषि ज्ञान केन्द्रका प्रमुख थापामगर बताउछन् । पछिल्लो केही वर्षयता भने जिल्लाका सीमित किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोको महत्व र यसको उपभोगले हुने फाइदा तथा लाभबारे बुझ्न थालेपछि सीमित किसान कोदो खेतीमा पुनः आकर्षित हुँदै गएको ज्ञान केन्द्रका प्रमुख थापामगरको भनाइ छ ।

उनले उत्पादन घटेपछि कोदोको मूल्य र माग भने बढ्दो क्रममा रहेको बताए । गाउँमा कोदो पाथीको (करिब चार किलोग्राम) दुई सयदेखि २५० रुपियाँसम्म पर्ने गर्दछ । महँगो पर्ने भए पनि माग अनुसार लोकल (स्थानीय) कोदो नपाइने गरेको उपभोक्ता बताउँछन् । सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका उपभोक्ता अनिता लिम्बूले महँगो पर्ने भए पनि गाउँमा माग अनुसार कोदो पाउनै छाडिएको बताइन् । उनका अनुसार गाउँमा उत्पादन भएको कोदो नपाइने भएपछि बजार तथा खाद्यान्न पसलमा जानुपर्ने अवस्था रहेको छ । बजारमा आउने कोदो पनि दिनदिनै मूल्य बढ्दै गएको उनले बताइन् । एक वर्षअघिसम्म बजारमा आउने कोदो प्रतिकिलोग्राम ५५ देखि ६० रुपियाँ पर्ने गरेकोमा अहिले बढेर ७५ देखि ८० रुपियाँसम्म पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्