झापा, माघ ४। झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव शुरु भएको छ ।

मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी छन् । उनले यस किसिमको महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुग्ने बताइन् ।
मेचीनगर क्षेत्रका कृषिउपज र उद्योगीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका साथै स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि शुरु भएको महोत्सव माघ १२ गतेसम्म चल्नेछ । महोत्सवमा ३६ वटा स्टल छन् भने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रदर्शनी तथा बिक्री, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गीतसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन कार्यक्रम समेत राखिएको छ ।
चेम्बर अफ कमर्सका झापा जिल्ला अध्यक्ष ओमकृष्ण बिमली, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास), मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष रविन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्का र स्वागत उपाध्यक्ष शान्तिराम चिमरियाले गरेका थिए ।