झापा, माघ ५ । झापाको कन्काई माईमा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ ।

कोशी प्रदेश सरकारको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको करिव दुई करोड रुपैयाँको बजेटमा विद्युतीय शवदाह गृह बन्ने भएको हो । विद्युतीय शवदाह गृह निर्माण गर्नका लागि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीलगायतको टोलीले आज ठाउँको अवलोकन गरेका छन् । कन्काई पुलको छेउमा रहेको घाटलाई विद्युतीय शवदाह गृह बनाइने भएको छ । कन्काई घाट संस्थाले दुईवटा घाट निर्माण गरेकोमा एउटा घाट विद्युतीय शवदाह गृह निर्माणका लागि दिने भएको हो । कन्काईको कोटीहोम क्षेत्रमा पाँचवटा घाट रहेका छन् ।

विद्युतीय शवदाह गृह निर्माणका लागि इन्टर ट्रेड नेपाल बिराटनगरले ठेक्का पाएको छ । निर्माण कम्पनीका प्रतिनिधि बैभव केडियाले दुई महिनाभित्र विद्युतीय शवदाह गृह निर्माण भइसक्ने जानकारी दिए । सो शवदाह गृहको सिभिल वर्कको काम कन्काई नगरपालिकाले गर्ने बताइएको छ ।

सो शवदाह गृह कन्काई नगरपालिकाद्वारा संचालन हुने भएको छ । विद्युतीय शवदाह गृह बनेपनि आर्थिक भारसंगै समयको पनि बचत हुने भएको छ । एकजनाको अन्त्येष्टि गरेवापत दुई हजारदेखि दुई हजार पाँचसय तिर्नुपर्ने भएको छ भने करिव ३५ मिनेटमा अन्त्येष्टि भइसक्ने छ । अहिले अन्त्येष्टि गर्दा घाट शुल्क र दाउरा गरी पाँच हजार पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्