बिर्तामोड, माघ ५ । बिर्तामोडबासीहरुले नपत्याएर कार्यक्रममा नआएपछि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईं आक्रोशित भएका छन् ।

करिब डेढ महिनाको हिरासत बसाइँपछि घर फर्किएका राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंको स्वागत सम्मानमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोडबासीहरुको खासै उपस्थिति थिएन । उनले जिल्ला बाहिरबाट सहभागी ल्याएर कार्यक्रम गरेका थिए ।

बिर्तामोडबासीहरुप्रति अत्यन्त आक्रोशित देखिएका प्रसाईंले भने,‘ म मरे भने मलामी पनि नआउनु ।’ उनले बिर्तामोडका मानिसहरुलाई जिउँदो लाशको संज्ञा दिँदै आफ्नो अभियानलाई साथ नदिएकोमा आक्रोश व्यक्त गरेका हुन् । ‘कैलाली , रौतहट , रुपन्देहीलगायतका जिल्लाका मानिसहरु जागिसके ’ उनले भने, ‘ बिर्तामोडका मानिसहरु सुतिरहेका छन् । ’ डेढ महिना हिरासतमा बस्दा बिर्तामोडको याद आएको बताउँदै उनले आफू यहाँ आउँदा सुरक्षित र भावुक बनेको धारणा राखे । बीएण्डसी अस्पताल खोल्न लाग्दा खिल्ली उडाएको बिर्तामोडको समाजले अहिले पनि नपत्याएको उनको गुनासो थियो ।‘यहाँको समाजले मलाई देखेर हाँस्न छाडेको छैन, पत्याउँदै पत्याएन’ उनले भने,‘ यो कुरा बुझ्नुस् १८ प्रतिशत बैंकको व्याजदर मेरै कारणले ७ प्रतिशतमा झरेको हो । ’

बीएण्डसी मेडिकल कलेज भर्खरै संचालन गरेका प्रसाईंले आफूले बिर्तामोडमा हिन्दु विश्वविद्यालय खोल्न लागेको जानकारी दिए । उनले नेपाल हिन्दु विश्वविद्यालय दर्ता गर्न जाँदा हिन्दु भन्ने शव्दलाई सरकारले ब्लाकलिस्टमा राखेर दर्ता नदिएपछि सर्वोच्च अदालतमा गएको जानकारी दिए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बोलाएर सो विश्वविद्यालयको भूमिपूजन गर्ने बताए । प्रसार्इंले बीएण्डसी अस्पताल आफू बाँचुन्जेल लिलाम नहुने बताए । ।

अधिवक्ता स्वागत नेपालले संसदीय ब्यवस्था खारेज गर्नुपर्ने बताए ।आज एउटासँग र भोलि अर्कोसँग मिलेर सरकार बनाउने काम भएकोले अबको दिनमा झापाबाटै ब्यवस्था र भ्रष्टाचारका बिरुद्ध बिद्रोहको सुरुवात हुने उनले चेतावनी दिए ।कार्यक्रममा प्रेमदीप लिम्बू, संगठन बिभाग प्रमुख प्रेम थापा मगरलगायतले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्